मास (कालो दाल) बाली
परिचय
मास बाली (Vigna mungo L.) कोसेबाली परिवारमा पर्दछ । यसको जरा ट्याप रूट प्रणालीमा आधारित हुन्छ र डाँठ थोरै धारिलो बाक्लो खैरो झुसले ढाकिएको र अधर देखि नै थुप्रै हाँगाबिङ्गाहरु निस्केका हुन्छन् । यसका पातहरु ठुला, तीनपाते (trifoliate) तथा बैजनी रंगको झुसले ढाकिएका हुन्छन्। पातहरू ५-१० सेन्टिमिटर लामो र अंडाकार हुन्छन् र फूलहरु ५-६ वटा फूलहरूको समूहमा फुल्दछन् । कोसाहरू लामो र बेलनाकार र ४-६ सेन्टिमिटर लामो हुन्छन् । प्रत्येक कोसामा कालो वा गाढा खैरो ४-१० बीउहरू हुन्छन् ।

नेपालमा मासबाली क्षेत्रफल तथा उत्पादनको दृष्टिकोणले दोश्रो महत्वपूर्ण कोसेबालीको रुपमा रहेको छ । करिब २३,०५६ हेक्टर क्षेत्रफलमा मासको खेती भई २०,४४० मे.टन उत्पादन र ८८७ के.जी. प्रति हेक्टर उत्पादकत्व रहेको तथ्याङ्कले देखाउदछ (कृषि विकास मन्त्रालय, २०१९) । विशेषतया यो बाली मध्य पहाडको बेसी, टार तथा उपत्यकामा मकैसँग मिश्रित बाली प्रणालीको रुपमा वा एकल बालीको रुपमा वा धानको आलीमा, भिरालो जग्गामा तथा घर वरिपरि लगाउने प्रचलन छ भने तराईमा प्रायजसो एकल बालीको रुपमा, सडकको किनारतिर र धानको आलीमा लगाईन्छ ।
मासको दाल आम नेपालीको खानाको पहिचान हो र यसबाट २५ प्रतिशत प्रोटिन र प्रचुर मात्रामा पोटासियम पाइन्छ । मासको परिकारहरु सजिलै पच्नुका साथै स्वादिष्ट हुन्छन् । टुसा उमारेर खाइने दानाहरुमा प्रशस्त मात्रामा भिटामिनहरु तथा एमिनो एसिड पाईन्छ । मासबाट मस्यौरा, क्वांटी, रोटी बारा, फुरौला, खिचडी आदि विभिन्न परिकारहरु बनाईन्छन् । मास पशु आहारको रुपमा समेत प्रयोग गरिन्छ । अन्य कोसेबालीले जस्तै मासले वायुमण्डलमा रहेको नाईट्रोजनलाई माटोमा स्थिरीकरण गरी विरुवालाई उपलब्ध गराउने भएकाले यसलाई हरियो मलको रुपमा र भुक्षय रोक्न समेत खेती गरिएको पाइन्छ । श्रोत तथा साधनको कमीले यस बालीको अनुसन्धानमा खासै फड्को मारेको देखिंदैन । खासगरी उन्नत जातहरु सिफारिस नहुनु, पहेंलो छिरविरे रोगको प्रकोप बढ्नु, माटोमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम, तथा मोलिब्डेनमको कमी हुनु साथै कृषक समक्ष उन्नत खेती प्रविधिको विस्तार हुन नसक्नु तथा खेती गर्दा उन्नत प्रविधि नअपनाउनु आदि मुख्य कारणहरु पर्दछन् । यो बालीको स्थानीय जातहरुमा आवश्यक सुधार गरी नयाँ जातको विकास गरी उत्पादकत्व बढाउन सकेमा खाद्य सुरक्षा तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान दिन सकिने संभावना देखिन्छ ।
मध्य पहाडको खेती प्रणालीमा मास एक्लै वा अन्य बालीसँग अन्तरबाली वा मिश्रित वालीको रुपमा लगाउनु पर्दछ । यसको लागि कोदो, मकै, बाजा र कपास जस्ता बालीसँग अन्तरबाली वा मिश्रित बाली को रुपमा लगाउन सकिन्छ । त्यसैगरी यो बालीलाई फराकिलो दुरी आवयश्यक भएका बालीहरु जस्तै रहर र उखुसँग समेत सफलता पुर्वक अन्तर बालीको रुपमा खेती गर्न सकिन्छ । मासलाई धान खेतको आलीमा लगाउने प्रचलन परापूर्वकाल देखिनै रहँदै आएको छ । प्रचलित मास वाली खेती प्रणाली निम्नानुसार रहेको पाइन्छ ।
१. मकै+ मास (गहुँ वा तोरी)
२. धान मास (आलीमा)- गहुँ वा तोरी
३. मकै -आलु - मास
४. मकै - गहुँ -मास
५. मकै मास गहुँ - हरियो मल (ढैचा)
जातहरु
मासका विभिन्न जातहरु विभिन्न जलवायु तथा भौगोलिक वातावरणको लागि उपयुक्त हुने गरि सिफारिस गरिएको छन् । निश्चित जात छनौट गरी सिफारिस गरिएका क्षेत्रमा लगाउँदा मासबाट कृषकहरुले मनग्य उत्पादन लिन सक्छन् । कोसेबाली अनुसन्धान कार्यक्रम खजुराले मासबालीको प्रजनन् र मूल बीउ उत्पादन गरी विभिन्न सरकारी र गैरसरकारी संघ संस्था, सहकारी र कृषक समूहहरुलाई उपलब्ध गराउँदै आएको छ ।

आवश्यकता
नेपालमा मासको खेती तराई देखि मध्य पहाड (१००-१९०० मिटरको उचाई सम्म) मा गृष्म तथा वर्षा दुबै मौसममा गर्न सकिन्छ। मासको विरुवाको वृद्धि विकास र राम्रो उत्पादनको लागि २५-३५° से. तापक्रम आवयश्यक पर्दछ। विशेषत मास छोटो प्रकाश अवधि मन पराउने बाली भएकाले फूल खेल्ने समयमा हुने वर्षातले भने उत्पादनमा प्रतिकुल असर पारेको देखिन्छ । मासले खडेरी तथा गर्मी सहन सक्छ तर अत्याधिक तुसारो र हिमपात सहन सक्दैन । मासलाई विशेष गरि वर्षे बालीको रुपमा लगाउने भए पनि गृष्म मौसममा यसको खेती गर्दा सिंचाईको आवयश्यकता पर्दछ । मासलाई विभिन्न प्रकारको माटोमा उब्जाउन सकिन्छ । यो बाली पानी नजम्ने वा समुचित जल निकास भएको बलौटे दोमट वा दोमट माटो भएको जग्गामा लगाउन उपयुक्त हुन्छ । धेरै अम्लिय माटो मास खेती को लागि उपयुक्त हुँदैन तसर्थ माटोको पी.एच. तटस्थ भएको (६ देखि ७.५) हुन उत्तम हुन्छ ।
मास लगाउने समय खेती गरिने ठाउँ, वर्षा तथा बाली पद्धति अनुसार फरक फरक हुन सक्दछ । मध्य पहाडको लागि जेष्ठको अन्तिम हप्ता देखि असार दोश्रो हप्तामा बीउ छर्न उपयुक्त मानिएको छ भने तराई र भित्र मधेशमा वर्षे सिजनको लागि श्रावणको अन्तिम हप्ता देखि भदौ दोश्रो हप्तामा र गृष्म सिजनमा चैत्रको अन्तिम हप्ता देखि वैशाखको दोश्रो हप्ता सम्ममा बीउ छर्न उपयुक्त मानिन्छ । घैया धान वा मकै पछि मास लगाउने ठाउँहरु जस्तै लम्जुङ्ग, गोरखा, तनहुँ, दैलेख, डडेल्धुरा आदिमा भदौ महिना भरीमा मास छर्न सकिन्छ। तराई क्षेत्रमा गृष्म बालीको रुपमा मध्य फाल्गुन देखि मध्य चैत्रमा लगाउन सकिन्छ भने मध्य चैत्र भन्दा ढिलो लगाउँदा मास पाक्ने बेलामा वर्षा भै उत्पादनमा असर पुग्न संभावना रहन्छ ।
मास वर्षे बाली भएकोले साधारणतया सिंचाईको आवश्यकता पर्दैन तर धेरै समय सम्म खडेरी परेमा सिंचाईको आवश्यकता पर्दछ । खासगरी कोसामा दाना भरिने बेलामा एक सिंचाई दिनुपर्ने हुन्छ । गृष्म सिजनमा लगाइने मास खेती गर्दा २ देखि ३ पटक सम्म सिंचाईको आवश्यक पर्दछ ।
कृषि इन्पुट
गृष्म सिजनमा एकल बालीको रुपमा लगाउँदा ३० के.जी. प्रति हेक्टर अर्थात १ के.जी. प्रति कट्ठाको दरले रोप्नु पर्दछ भने वर्षे सिजनमा २० के.जी. प्रति हेक्टर अर्थात ७०० ग्रा प्रति कट्ठाको दरले रोप्नु पर्दछ तर बीउको उमारशक्ति ७५ प्रतिशत भन्दा बढी हुनु जरुरी हुन्छ । हरियो मलको प्रयोग गर्ने उद्देश्यले मास लगाउँदा बीउदर २०-४० के.जी./हे. का दरले प्रयोग गर्नु उपयुक्त हुन्छ । लाइनमा रोप्दा एक लाइन देखि अर्को लाइनको दुरी ४० देखि ५० से.मी. तथा एक वोट देखि अर्को बोटको दुरी १० से.मी. हुनुपर्दछ ।
बीउवाट उत्पन्न हुने ढुसीजन्य रोगहरु नियन्त्रणको लागि वेभिष्टिन २ ग्राम प्रति के.जी. बीउको दरले राम्ररी मिसाई उपचार गर्नु पर्दछ । मासबाली पहिलो पल्ट लगाउँदा भने बीउलाई राईजोबियम जैविक मलले उपचार गर्नु फाइदाजनक हुन्छ । यसको लागि राइजोबियम मल (KAU-BG-2 and BG-12) बाट बीउ उपचार गर्नु परेमा ५ ग्राम प्रति १ के. जी. बीउमा १० प्रतिशत चिनी पानीको झोलमा मलेर उपचार गर्नु पर्दछ
जग्गा तयारी
जमीनलाई १५ देखि ३० से.मी. गहिरोसँग २-३ पटक जोनु पर्दछ र अघिल्लो बालीको अवशेषहरु र झारपातहरु हटाउनु पर्दछ । अन्तिम जोताईमा आवश्यक सिफारिस मलखाद राखि राम्रोसँग डल्ला फोरी पाटा लगाई सम्याउनु पर्दछ ।
बाली व्यवस्थापन तथा हेरचाह
मलखाद कति प्रयोग गर्ने भन्ने कुरा माटोको उर्वराशक्ति तथा कृषकले गोठेमल कति प्रयोग गर्छन् भन्नेमा निर्भर रहन्छ। माटो धेरै मलिलो भएको अवस्थामा रासायनिक मलको आवश्यकता पर्दैन तर जग्गा कम मलिलो रहेको अवस्थामा र मास एकल बालीको रुपमा खेती गरिदा डि.ए.पी. ३ के.जी., युरिया ३०० ग्राम र पोटास १.३ के.जी. तथा ५०० के.जी. कम्पोष्ट मल प्रति कठ्ठाका दरले जमीन तयार गर्ने बेलामा माटोमा राम्रोसंग मिलाउनु पर्दछ । मासमा फस्फोरस बढी मात्रामा उपलब्ध हुने हुँदा फस्फोरसयुक्त मलको मात्रा अन्य दालबालीको तुलनामा मासलाई धेरै चाहिन्छ । यसको साथै ५ ग्राम मोलिब्डेनिम प्रति के.जी. बीउमा उपचार गर्दा वा अनुसन्धानबाट प्राप्त नतिजा अनुसार २.५ प्रतिशत अमोनियम मोलिब्डेटले उपचार गर्दा मासको उत्पादन बढेको पाईएको छ ।
बीउ बिजन प्रयोगशालाका अधिकृत वा तालिम प्राप्त आधिकारिक व्यक्ति वा कृषि ज्ञान केन्द्र/जिल्ला कृषि विकास कार्यालयका बाली विज्ञलाई कम्तीमा दुईपटक मास फूल फूलेपछि वीउ वृद्धि प्लटमा लगेर अवलोकन गराउनु पर्दछ । अवलोकन गराउनु अगाडि खेतबारीलाई सफा राखे, मासका अन्य नराम्रा बोटहरु भए निकालेर हटाउनु पर्छ ।
बीउ बालीका रुपमा खेती गरिएको खेतमा उही जातका अग्ला, होचा बोटहरु, अर्को जातको बोटहरु, रोगी बोट, कमजोर बोटहरु, भिन्न प्रकारका फूलहरु वा चाँडै पाक्ने ढिलो पाक्ने बोटहरु देखापरेमा समयमै हटाउनु पर्छ ।
रोग किरा व्यवस्थापन
यो रोगको जीवाणु माटोमा ३ वर्षसम्म बाँच्दछ। चिस्यान र छिट फुट पानी परिरहने र धेरै सपेक्षित आद्रता रोगको लागि अनुकूल वातावरण हुन्छ। यो रोग मुङ्ग र मास दुबैमा लाग्दछ।
लक्षण
- पातमा सानो-सानो पानीले भिजेको जस्तो गोलो आकारको धब्बा देखिन्छ जसको वरिपरि पहेंलो घेराले घेरिएको हुन्छ।
- पछि साना-साना गोलो आकारका धब्बा एक आपसमा जोडिएर सुरुमा पातको सतह भन्दा माथि उठेको ठुलो खैरो धब्बा देखिन्छ भने रोग बढ्दै गएमा धब्बाको बीच भाग पातको तलतिर दबेको जस्तो फुस्रो देखिन्छ ।
- पुराना पातमा रोग लागेका पात झर्ने समस्या देखिन्छ ।
- पाकी सकेको कोसामा रोगको समस्या नदेखिए पनि हरियो कोसामा रोगको कारणले कोसा पुस्ट नहुने र अरु जीवाणुले संक्रमण गर्ने हुन्छ ।
व्यवस्थापन
- रोगको अवशेष हटाउने।
- खेती गर्ने वरिपरि झारपात हटाउने।
- वाक्लो गरी खेती नगर्ने।
- रोगको लक्षण देखिन साथ बेभिस्टिन (कार्बेन्डाजिम) नामक ढुसीनाशक विषादी २ ग्राम प्रति लि. पानीमा मिसाई बोट राम्ररी भिज्ने गरि २-३ पटक १०-१५ दिनको अन्तरालमा छर्ने।

बालीको कुनै पनि अवस्थामा यो रोग लाग्न सक्छ। यो जीवाणुबाट लाग्ने रोग रोगी बीउबाट सर्दछ। न्यानो र पानी परेको अवस्थामा यो रोग छिटो फैलिन्छ ।
लक्षण
- सुरुमा बोटको तल्लो पातमा खैरो-कालो धब्बा देखिन्छ ।
- विस्तारै स-साना धब्बाहरु जोडिएर पुरै पात सुक्खा भएर जले जस्तो देखिन्छ ।
- रोग बढ्दै गएमा रोग डाँठमा पनि देखिन्छ र माटोको सतहमा रहेको डाँठमा घाऊ बनाएको हुन्छ जसले गर्दा बोट कमजोर हुन्छ।
व्यवस्थापन
- स्वस्थ बीउ प्रयोग गर्ने।
- रोगको अवशेष हटाउने।
यो ढुसीबाट लाग्ने रोग हो। न्यानो र उच्च सापेक्षित आद्रता भएमा यो रोगको प्रकोप धेरै हुन्छ।
लक्षण
- सुरुको अवस्थामा पातको माथिको सतह र पछि दुबै भागमा सेतो ढुसी देखिन्छ ।
- यो रोग फूल फुल्ने र कोसा लाग्ने समयमा देखिए उत्पादनमा हानी गर्छ।
- विस्तारै पातलाई सेतो ढुसीले ढाकिसके पछि डाँठ, हागा र अन्तिममा कोसामा पनि ढुसीले आक्रमण गर्छ।
- पातको सहतमा सेतो ढुसीले ढाकेपछि विस्तारै पात खैरो हुँदै जान्छ र कमजोर भएर पात झर्छ।
- रोगी बोटको कोसामा लागेका दानाहरु पुस्ट नहुने र उत्पादन घट्ने हुन्छ ।
व्यवस्थापन
- स्वस्थ बीउको प्रयोग गर्ने।
- खेत वरिपरि झारपात हटाउने।
- रोगको अवशेष हटाउने।
- रोगको लक्षण देखिन साथ बेभिस्टिन (कार्बेन्डाजिम) नामक ढुसीनाशक विषादी २ ग्राम प्रति लि. पानीमा मिसाई बोट राम्ररी भिज्ने गरि २-३ पटक १०-१५ दिनको अन्तरालमा छर्ने।

कोसामा लाग्ने गबारोले चना र रहर दुबैमा असर गर्दछ । यो कीराको वयस्क अवस्था एक किसिमको पुतली हो। यो कीराको वयस्क, फूल, लार्भा र प्युपा गरी ४ अवस्था हुन्छ । पुतलीको शरीर गाढा खैरो रङ्गको हुन्छ । पोथी पुतलीले कोपिला, फूल र कोसामा फूल पार्दछ । फूलबाट लार्भा हरू उत्पन्न भै कोसाहरू खान थाल्दछन्। नेपालमा चना र रहर बालीको लागि यो कीरा ठूलो समस्याको रूपमा देखा परेको छ । यो कीराले कोसाहरू अति नै मन पराउँछ। यस कीराको आक्रमण बढेमा दलहनको उत्पादन निकै घटेर जान्छ ।
लक्षण
- गबारोले रहर र चनाको कोपिला, फूल र कोसा खाएर क्षति गर्छ। यदि फूल र कोसाहरु नपाएमा यिनीहरुले बिरुवाको पात खान्छन् जसमा नसाहरु मात्र बाँकी रहन्छ । कोसामा लार्भहरुले ठुलो प्वाल बनाएर आधा शरीर भित्र पसाई कलिला र पाक्न लागेका दानाहरु सम्पूर्ण रुपले खान्छन् । कहिलेकाहीं नोक्सान भएका दानाको केही भाग र बोक्रा भने बाँकी रहन्छ ।
व्यवस्थापन
- यौनजन्य कीरा आकर्षण पदार्थ हेलील्युरको प्रयोग गरेर भाले पुतलीलाई समात्न सकिन्छ । हेलील्युर राखेको ४८ घन्टामा १० ओटा भन्दा धेरै भाले पुतली देखिएमा तुरुन्त अन्य व्यवस्थापन विधि अपनाउनु पर्दछ ।
- मसिना लार्भे देखिनासाथ व्यासीलस थुरिन्जेन्सिस भेराइटी कुर्सटाकीको पानीमा मिसिने ठुलो १ ग्राम प्रति लि. पानीका दरले मिसाएर बेलुकीपख छर्ने ।
- बोट र कोसामा देखिएका लार्भे हातले टिपी व्यवस्थापन गर्ने ।
- न्युक्लियर पोलिहेड्रोसिस भाइरस, हेली (एन.पी.भी.) को १०० एल.ई. को १ मि.लि.वा २०० एल.ई को ०.५ मि.लि. प्रति लिटर पानीमा २-३ थोपा नीर मिसाई बनाएको झोल बेलुकीपख छर्ने ।
- चनामा लाग्ने कोसे गबारोको लागि ३ हार चना र एक हार धनिया लगाउँदा धनियाको गन्दले गबारो कम भएको पाइएको छ ।
- गर्मी याममा बारीलाई गहिरो खनजोत गर्दा गवारोका प्यूपाहरु नष्ट हुन्छन् र माटो सतहमा देखिएका प्यूपाहरुलाई यिनका प्राकृतिक शत्रु (चरा, छेपारा आदि) र सूर्यको किरणले नष्ट गर्दछन् ।
- दलहन बालीलाई गवारो कीराले मन नपराउने बालीहरु जस्तै गहुँ, जौं तथा आलससँग मिश्रण गरी लगाउँदा गवाराको अक्रमण कम हुने गर्दछ ।
- निममा आधारित कीटनाशक विषादीहरु जस्तै मर्गोसम ०.१ ई.सी वा मल्टीनिम ०.०३ ई.सी. ५ मि.लि. प्रति लिटर पानीका दरले बनाएको झोल छर्ने ।
- इमामेक्टिन बेन्जोएट ५% एस.जी. (जस्तै किंग्स स्टार, एन स्टार) ०.५ मि.लि. प्रति लिटर पानीमा बनाएको झोल छर्ने ।

एसिया महाद्विपमा प्रशस्त फैलिएको यो कीरा (Melanagromyza obtusa) रहर बालीको प्रमुख कीरा हो भने अन्य कोसेबालीमा पनि यसले नोक्सान गर्दछ । यी झिंगा काला रंगको हुन्छन् । यिनले रहरका कलिला कोसामा भित्र पट्टि सेतो रंगको फूलहरु पार्दछन् । अनुकूल वातावरण भएमा ३ हप्ता भित्र यी कीराले जीवन-चक्र पुरा गर्दछ । यो झिंगाले १० देखि ८०% प्रतिशत सम्म क्षति गर्दछ ।
लक्षण
- यो कीराले कोसाको भित्र बसेर दाना खाने भएको हुदा शुरूमा भारी लक्षण देखिदैन ।
- कोसाभित्र भएको औंसाले पुरै नोक्सान गरिसकेपछि वयस्क झिंगा प्वाल बनाएर कोसा बाहिर निस्कन्छन् ।
- झिंगाले क्षति गरेको रहरक दाना च्याउरिएको हुन्छ र उपयोग गर्न मिल्दैन
व्यवस्थापन
- एउटै समयमा पाक्ने जात नलगाउने ।
- दैहिक विषादी १-२ मिलि प्रति लिटर पानीमा मिसाई कोसा लागेपछि आवश्यकता अनुसार २-३ पटक सम्म छर्केने ।
विभिन्न दलहन बालीमा लाग्ने लाही कीराहरूको आकार र रङ्ग फरक-फरक हुन्छ । सामान्यतया बोडीको लाही (Aphis craccivora) सानो, गाढा कालो र सिमिको लाही (Aphis fabae) भन्दा ज्यादा चहकिलो हुन्छ । मुसुरो, चना, बोडी, रहर, मासमा लाही कीराको आक्रमण बढी हुने गर्दछ । सिमीमा लाग्ने लाही खैरो हरियो र ठूलो आकारको हुन्छ । विगतका केही वर्षहरूको तुलनामा हालका दिनहरूमा लाहीहरूको संख्या अत्यन्तै बढेको पाइएको छ । हानी नोक्सानी पनि सोही रूपमा बढेर गएको छ । पखेटा भएका र नभएका दुवैथरि लाही कीराले पहाड देखि तराईसम्म विभिन्न दलहन बालीहरूको रस चुसेर सताउने गर्दछन् । खप्नै नसक्ने जाडो र गर्मी मौसममा बाहेक अन्य समयमा यिनीहरूले बोटबिरुवालाई निकै हानी पुऱ्याउँछन् । वातावरणमा केही न्यानोपन बढ्नासाथ यिनीहरू सक्रिय हुन थाल्दछन् ।
क्षतिको प्रकार
- कलिला पातहरू, कोपिलाहरू, फूलहरू, कलिला डाँठहरू र कोसाहरूमा माउ र बच्चा दुबैले सयौंको संख्यामा रस चुसी हानी पुऱ्याउँदछन् ।
- यसको असरले पातहरू बटारिन्छन्, गुजुमुज्ज पर्दछन् र पहेंला हुन्छन् । कलिला मुनाहरू ओइलाउँदछन् । बोटहरूको राम्रो विकास हुन पाउँदैन।
- लाही कीराले बोडी र मुसुरोमा गरेको असर कोसाहरू बटारिन्छन् र तिनमा खस्रा धब्बाहरू देखा पर्दछन् । कोसाहरूको राम्रो विकास हुँदैन । कोसाहरूमा निकै कम दानाहरू लाग्दछन् र उब्जनीमा कमी आउँदछ ।
- विरुवा कमजोर हुनु, पातमा कालो ढुसी पत्र देखिनु, हाङ्गा पातमा कमीला घुमिरहनु र भाईरस रोगको लक्षण (नसा उपनसा पहेंलिदै पात गुजुमुज्ज पर्नु) देखा पर्नु लाही लागेका मुख्य लक्षण हुन् । यी लाही कीराले रोगीबोट चुसेर स्वस्थ बोटमा विशाणूजन्य भाइरस प्रसारण गर्दछन् र भाइरसको भयावह परिस्थिति सृजना गर्न समेत सहयोग पुऱ्याउँछन् ।
व्यवस्थापन
- लाहीको बथानलाई मसिनो ब्रुसको सहायताले मट्टितेल र पानीको मिश्रण राखिएको भाँडोमा खसाली मार्ने ।
- केराउ, बोडी, सिमी, मुसुरो जस्ता कोसेबालीहरू सामान्य समय भन्दा छिटो लगाउने र छिटो कोसा छिप्पिने खालका जातहरू लगाउँदा लाहिको प्रकोपवाट बचाउन सकिन्छ ।
- यसको प्राकृतिक शत्रु लेडीबर्ड बिटल भएको हुनाले शिकारी बिटल संरक्षण गर्ने ।
- १ लिटर गहुँतमा ४ लिटर पानीका दरले मिसाई पतल्याइएको गहुँतलाई स्प्रेयरले एक हप्ताको फरकमा पात र डाँठ राम्ररी भिज्ने गरी छर्कने ।
- पहेंलो पासो (Yellow trap) प्रयोग गर्ने ।
- निमजन्य विषादी एजाडीरेक्टिन ०.०३% इ.सी (मल्टीनिम, निम्बेसीडीन) ५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
- खाद्यतत्वको सन्तुलित मात्रामा प्रयोग गर्दा बिरुवा स्वस्थ हुन्छ, स्वस्थ बिरुवामा लाही कीराद्वारा हुने क्षति कम हुन्छ ।
- यी माथि उल्लेखित विधिको प्रयोगबाट पनि लाही कीरा कम नभएमा इमिडाक्लोप्रिड १७.८ एस.एल (एडमाइर, एटम) १ मि.लि. प्रति लिटर पानीमा मिसाई बनाएको झोल झोल बिरुवा राम्ररी भिज्ने गरी १५ दिनको फरकमा छर्ने ।
उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु
मास ६० देखि ८० दिनमा पाक्दछ । मास पाक्ने बेलामा कोसाहरु कालो हुने गर्दछन् । मास बाली ८५ प्रतिशत कोसाहरु पाकेपछि काट्नयोग्य भएको मान्नु पर्दछ । कोसेबालीलाई उखेल्नु हुँदैन किनभने उखेल्दा जरामा रहेका गिर्खामा संकलन भएका नाइट्रोजनहरु नस्ट हुन जान्छन् । काटेको बोट राम्ररी घाममा सुकाई लठ्ठी अथवा गोरुले दाई गरि दानालाई सफा गर्नु पर्दछ । मासका दानाहरु सफा गरी ३ देखि ४ दिन सम्म घाममा सुकाई सकेपछि, टोक्दा कटक्क आवाज आउने भएमा, १ क्विन्टल बीउमा १ चक्की सेल्फस हाली हावा नछिर्ने भाँडोमा भण्डारण गर्नु पर्दछ ।
उन्नत प्रविधि र उन्नत जात लगाई मास खेती गर्दा प्रति हेक्टर १.२ देखि १.५ टन सम्म उत्पादन लिन सकिन्छ ।
-बीउलाई राम्ररी सुकाएर ९ प्रतिशत चिस्यानमा भण्डारण गर्नु पर्छ ।
-५ देखि १० डिग्री से. तापक्रममा अन्न भण्डारण गरेमा कीरा ढुसीबाट सुरक्षित राख सकिन्छ ।
-बीउ भण्डारण गर्दा गारो वा भुईंको चिसोबाट बचाउन जमिनको सतहबाट ४ इन्च उठाई फलेकमा राखु पर्छ ।
-नँया बीउलाई पुरानो बीउसँग मिसाउनु हुन्न ।
-भण्डारण गर्नु अघि भण्डारण कोठा सफा राखुपर्छ ।
-भण्डारण गर्नु अघि मालाथायन ५० इ.सी. को ५ प्रतिशतको झोल बनाई भण्डार कोठाको भित्ता तथा भुईमा छर्नु पर्दछ ।
-विषादी छरेको भाँडा ओभानो भएपछि मात्र बीउ भण्डारण गर्नु पर्दछ ।
बीउ प्रमाणीकरण प्रक्रियाले उत्पादित बीउको जातीय शुद्धता कायम रहे/नरेहेको बारेमा जानकारी दिन्छ । यस प्रक्रियामा खेतवारीमा बिरुवाको अवलोकन तथा प्रयोगशालामा जातीय परिक्षण गरिन्छ जसले गर्दा बीउको गुणस्तर नियन्त्रणमा सहयोग पुग्दछ ।
सन्दर्भ सामग्री
- डा. राजेन्द्र दराई
संयोजक तथा बरिष्ठ वैज्ञानिक (एस ४) कोसेवाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके
दलहन बाली खेती प्रविधि
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र
