फापर बाली
परिचय
स्थानिय नाम : फापर्या, फाप्रे
अङग्रेजी नाम : Buck wheat
वैज्ञानिक नामः Fagopyrum esculentum
फापरलाई स्थानियहरु फाप्रे पनि भन्ने गर्छन । जिल्लाका खास गरि जुकोट, साप्पाटा, गोत्री, जगन्नाथ, पाण्डुसेन, कोल्टी र बाँधु, दहकोट लगायतका गाविसहरुमा यसको खेति बढि गरिन्छ । तिते फापर र मिठे फापर गरि दुई जातको फापर प्रचलनमा रहेको छ । तिते फपरको स्वाद तितो हुने र या उच्च पहाडी भेगमा खेति गरिन्छ भने मिठे फापर कम उचाइ भएको स्थानमा खेति गरिन्छ । फापरको नियमित सेवनले मुटुको रोग र उच्च रक्तचाप र मधुमेह जस्ता रोगहरु नलाग्न वा नियन्त्रणमा सहयोग पुग्छ । पछिल्लो समय फापरलाई अन्नको रुपमा भन्दा पनि सागको रुपमा मात्र प्रयोग गर्ने चलन बढेको पाइन्छ । लेकाली भेगतिर तिते फापर वैसाखमा लगाइन्छ भने भदौ तिर बाली लिइन्छ । त्यसै गरि मिठे फापर तल्लो भेगमा असार देखि भदौ सम्म लगाइन्छ र असोज कार्तिकमा बाली भित्र्याउने काम गरिन्छ ।
शक्ति ३२३ क्यालोरी, चिस्यान ११.३ ग्राम, प्रोटीन १०.३ ग्राम,चिल्लो २.४ ग्राम, कार्वोहाईड्रेड ६५.१ ग्राम, मिनरल्स २.३ ग्राम, फाईवर ८.६ ग्राम, क्याल्सीयम ६४ Mg, फस्फोरस ३५५ Mg, आईरन १५.५ Mg, भिटामीन बि १– ०.९ Mg, भिटामीन बि २ – ०.३४ Mg, भिटामीन बि ३ –४.४ Mg, । यसमा ओमेगा ३ र ओमेगा ६ समेत पाईने भएकोले पौष्टिकताका हिसावले अत्यन्तै महत्वपुर्ण मानिन्छ ।
नेपालको उच्च पहाडी क्षेत्रमा फापरलाइ प्रमुख खाद्यन्नकोरुपमा लिइन्छ । खेती गरिने २ वटा तीते र मिठे फापर प्रजाति रहेका छन् । फापर विकास र प्रबर्द् धनका अनुसन्धान र लगानीका हिसाबले उपेक्षित बाली भएतापनि हाल आएर यसलाइ भविष्यको स्मार्ट खाद्यबालीको रुपमा हेरिएको छ ।
- थोरै लगानी र विविध हावापानीमा खेती गर्न सकिने ।
- छोटो समयमा सजिलोसँग उत्पादनलिन सकिने ।
- मह उत्पादनमा विशेष योगदान रहेको ।
तालिका: फापरमा पाइने पोषणको मात्रा
| पोषण | मीठे फापर (प्रतिशत) | तिते फापर(प्रतिशत) |
| चिस्यान | ९.८ | १०.२ |
| शक्ति | ३४३ | ३२८ |
| प्रोटिन | १३.३ | १०३ |
| चिल्लो | ३.४ | २.५ |
| खरानी | २.१ | १.८ |
| कार्बोहाइड्रेट | ७१.५ | ७४.३ |
| रेशा | १० | ६.३ |
| पीठोमा प्रोटिन | १९ | १८.९ |
आवश्यकता
तिते फापरलाई चिसो हावापानी चाहिन्छ । उच्च पहाडी क्षेत्रमा (३००० देखि ४००० फिट) मा खेती गरिन्छ । भने मिठे फापरलाई तुलनात्मक रुपमा न्यानो चाहिन्छ, त्यसैले उच्च पहाडको बेसी, फाँट देखि लिएर मध्य पहाड, तराई, भित्री मधेशमा खेती गरिन्छ ।
हल्का बलौटे र बलौटे दोमट माटो राम्रो हुन्छ । यसले पानीको निकास नभएको चिम्ट्याइलो माटो तथा धेरै चुनको मात्रा भएको माटो सहन सक्दैन ।
कृषि इन्पुट
छरुवा बिधिवाट लगाउँदा मीठे फापर ६०˗७० किलोग्राम र तीते फापर ४५˗५० किलोग्राम प्रति हेक्टर चाहिन्छ ।
जग्गा तयारी
धान खेतमा लगाउने हो भने धान काट्न साथ र बारीमा हो भने मकै भाच्ना साथ एक वा दुइपटक राम्ररी डल्ला फुट्ने गरी जमिन तयार पार्ने । जग्गामा पानीको राम्रो निकासको व्यवस्था हुनुपर्दछ ।
उच्च पहाडमा बैशाख˗जेठ, मध्य पहाडमा श्रावण˗भाद्र र सिंचित क्षेत्रमा गृष्मकालीन वाली लिन चाहेमा माघ–फागुनमा पनि रोप्न सकिन्छ तथा तराई र भित्री मधेशमा कार्तिक˗मंसिर पहिलो हप्तामा लगाइन्छ ।
यसलाई छरुवा बिधि तथा लाईनमा लगाउन सकिन्छ । लाईनमा रोप्दा लाईन देखि लाईन २५ से.मि. र रोप्ने गहिराई ५˗७ से.मि. हुनुपर्दछ ।
बाली व्यवस्थापन तथा हेरचाह
पहाडको बारीमा मकै – फापर बाली प्रणालीको लागि कम्पोष्ट मल २० डोका प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ भने रसायनिक मल प्रयोग गर्ने चलन खासै पाईदैन तर पनि राम्रो उत्पादन लिनका लागी युरिया २.४ के.जी डि.ए.पी.२.१७ के.जी. र पोटास ०.८ के.जी.प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ । तराईको खेतमा लगाइने धानै˗फापर˗मकै बाली प्रणालीको लागि कम्पोष्ट मल २० डोका प्रति कठ्ठाका दरले प्रयोग गर्नु पर्छ भने रसायिनक मल प्रयोग गर्ने चलन खासै पाईदैन तर पनी राम्रो उत्पादन लिनका लागी युरीया १.७ के.जी डि.ए.पी. २.८ के.जी. र पोटास १.१ के.जी. प्रति कठ्ठाका दरले प्रयोग गर्नु पर्छ । मलखाद प्रयोग गर्दा कम्पोष्ट मल, डि.ए.पी र पोटासको पुरै मात्रा र युरीयाको आधा भाग जमिन तयारीको वेला माटोमा मिसाउनु पर्दछ भने वाँकि रहेको युरीयाको आधा भागलाई दुई भाग लगाई पहिलो आधा भाग बाली लगाएको २०–२५ दिनमा र वाँकि आधा भाग त्यसको १ महिना पछि प्रयोग गर्नु पर्दछ जसले गर्दा विरुवाले सन्तुलितरुपमा खाद्यतत्वको उपभोग गर्न पाउने भएकोले उत्पादनमा वृद्धि हुन्छ ।
फापर बाली चाडै बढ्ने भएकोले र पात चौडाहुने भएकोले, एकनासले उम्रेमा यसमा झारको प्रकोप कमै हुन्छ । तर बीउ पातलो उम्रेमा २०˗२५ दिनपछि एक पटक गोडमेल गरी झारपात निकाल्नुपर्दछ ।
बारीमा वर्षे पानीको भरमा खेती गर्ने भएकोले यसलाई सिंचाई दिने चलन छैन । तर, पानी कम पर्ने ठाउँमा सिँचाईको व्यवस्था छ भने उम्रेको २०˗२५ दिन पछि र फूल फूल्ने बेलामा सिँचाई दिनु आवश्यक हुन्छ ।
रोग व्यवस्थापन
फापरमा खासै रोग लाग्ने गरेको छैन ता पनि कहिलेकाँही केही ढुसीजन्य रोग देखा पर्ने गर्दछन् । त्यसको रोकथाम तथा नियन्त्रणका लागि मेटाल्याक्सिल (८%) म्यान्कोजेब (६४%) १–२ ग्राम प्रति लिटर पानीमा मिसाई बाली उम्रेको १५ दिनभित्र छरेमा यस रोगको व्यवस्थापन गर्न सकिन्छ ।
बाली कटानी तथा भण्डारण
राम्रो व्यवस्थापनमा मिठे फापर प्रति हेक्टर १४०० र तीते फापर १६५० किलो प्रति हेक्टर सम्म दाना उत्पादन हुन्छ ।
फापरमा मिसियको ढुङ्गा, माटो, झारपात आदी लाई राम्रोसँग केलाई सके सम्म सफा पानीमा एक चोटी पखाल्नु पर्दछ र त्यसपछि ३˗४ घाम राम्रोसँग सुकाई चिस्यान १२ प्रतिशतमा ल्याई सुख्खा ठाउँमा भण्डारण गर्नु पर्दछ । सकेसम्म भण्डारण गर्दा सुपरग्रेन व्यागको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
